सल्यान ।। बसाई व्यवस्थापन, पुस्तकालय स्थापना, बालमैत्री कक्षाकोठा पाएपछि सल्यानका विद्यार्थी विद्यालय आउनेक्रम बढेको छ । सामुदायिक विद्यालयको पठनपाठन सुधारका लागि गरिएको प्रयासबाट अभिभावक पनि खुशी भएका छन् । सल्यानमा सञ्चालित सामुदायिक विद्यालयका विद्यार्थी हिजोआज निकै रुचिपूर्वक पढिरहेका भेटिन्छन् । विगतमा कक्षाकोठाको बसाईमा समस्या देखि पाठ्यपुस्तक समयमै नपाउने र विद्यार्थीहरु पनि बिचैमा कक्षा छोड्ने गरेका थिए । तर अहिले त्यस्तो समस्या छैन । चिटिक्क परेको कक्षाकोठा, बस्नलाई कार्पेट, किताबकापी, कमल राख्न टेबुल, ज्ञानगुनका पोस्टरले भरिएका भित्ता, कक्षाकोठामै पुस्तकालय, विद्यार्थी पढाइप्रति आकर्षित हुनुका कारण हुन् । बाल कल्याण आधारभूत बिद्यालय सिद्धकुमाख गाउँपालिका ३ फलाँटेका शिक्षिका प्रमिला बुढाथोकी सुविधाहरु थपिएसँगै विद्यार्थीमा सिक्ने जाँगर पनि थपिएको बताउनुहुन्छ । साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीका लागि अध्ययन सामग्रीको व्यवस्थापन गरिएको हो । यसबाट जिल्लाका ५४ वटा सामुदायिक विद्यालयका बालबालिका लाभान्वित भएका छन् । बिद्यालयमा कार्यक्रम लागू भएपछि विद्यार्थीहरुले नयाँपनको अनुभूत गरेका छन् । सिर्जनशिल आधारभूत विद्यालय स्यानीखालका शिक्षक झक्कुप्रसाद वली विद्यार्थी नियमित हुने दर बढेको बताउनुहुन्छ । चार बर्षे कार्यक्रम अनुसार साक्षरता कार्यक्रम पहिलो बर्ष कक्षा १ र दोस्रो बर्ष कक्षा २ मा लागू हुनेछ । साक्षरता कार्यक्रमका जिल्ला संयोजक बाबुराम पोख्रेल सानो कक्षामा नै पढ्न सक्ने बनाउने, केही सीप सिक्ने र स्वतन्त्र पाठक बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुहुन्छ । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राबिधिक सहयोग र दलित विकास समाज सल्यानको सहकार्यमा जिल्लामा यो कार्यक्रम चलाइएको छ । सााक्षरता कार्यक्रम लागू भएपछि पठनपाठनमा विद्यार्थीहरुको रुचि बढ्नुका साथै उनीहरूको आनीबानी र व्यवहारसमेत परिवर्तन हुने अपेक्षा गरिएको छ ।
Home प्रदेश समाचार कर्णाली प्रदेश बालमैत्री कक्षाकोठा पाएपछि सल्यानका विद्यार्थी विद्यालय आउनेक्रम बढदै
बालमैत्री कक्षाकोठा पाएपछि सल्यानका विद्यार्थी विद्यालय आउनेक्रम बढदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।