काठमाडाैं ।। सङ्घीय संसद् बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा बिभिन्न विधेयक पेश गर्ने कार्यसूची छ । यसअघिका तीनवटा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चल्न दिएको थिएन । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई पूर्वाग्रही भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेकोमा काँग्रेसले विरोधस्वरुप संसद् बैठक अवरुद्ध गर्दै आएको छ । गच्छदारसहित १ सय ७५ जनाविरुद्ध बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा दोषी रहेको निष्कर्षसहित अख्तियारले केही दिनअघि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सङ्घीय संसदका निमित्त महासचिव गोपालनाथ योगीका अनुसार आजको संसद् बैठकमा “औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रमाण (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने कार्यसूची रहेको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले “बिउ बिजन (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६” पनि बैठकमा पेश गर्ने कार्यसूची छ । गृह मन्त्री रामबहादुर थापाले “कारागार विधेयक, २०७६” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, “कारागार विधेयक, २०७६” पेश गर्ने, भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्तकुमार नेम्बाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजका लागि तय गरिएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित सिद्धार्थकुमार सोमानीको निधनमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजका लागि छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।