एजेन्सी ।। भारतको तमिलनाडुमा १३ वर्षीया किशोरीको पेटबाट लगभग आधा किलो कपाल, प्लाष्टिकका टुक्राहरु र खाली श्याम्पुको थुप्रै प्याकेटहरु निकालिएको छ । किशोरी ७ औं कक्षामा पढ्छिन् ।पछिल्लो केही महिनाबाट उनलाई लगातार पेट दुख्न थालेको थियो ।
त्यसपछि उनका परिवारले किशोरीलाई शहरको वीजीएम अस्पताल लगे । उक्त अस्पतालमा डाक्टरले उनको पेटबाट अचम्मका कुराहरु निकाले ।अस्पतालका अध्यक्ष बी.जी. मोहनप्रसादका अनुसार जब किशोरीको पेटको स्क्यानिङ गरियाे तब त्यसमा बल जस्तो केही बस्तु देखियो ।
इन्डोस्कोपीद्वारा त्यस बस्तुलाई निकाल्ने निर्णय भयो ।यद्यपि डाक्टरहरुको उक्त प्रयास असफल भयो । त्यसपछि शल्यक्रियामार्फत किशोरीको पेटबाट त्यो बस्तु निकाल्ने फैसला भयो । सर्जन गोकुल कृपाशंकर र उनको टिमको सफल शल्यक्रियापछि पेटबाट मानिसको
कपाल र श्याम्पुको खाली प्याकेटहरु निकालियो ।डाक्टर गोकुल कृपाशंकरका अनुसार किशोरीको नजिकको आफन्तको मृत्यु भएको थियो । जसकारण उनी श्याम्पुको खाली प्याकेट तथा कपालजस्ता अनौठा बस्तुहरु खान थालिन् ।
शल्यक्रियापछि किशोरी पूर्णरुपमा निको हुँदै सामान्य अवस्थामा फर्किएकी छन् । यद्यपि यस्ता पेटबाट अनौठो वस्तुहरू निकालिएको यो पहिलो घटना भने होइन ।यसभन्दा पहिले पनि चीनमा १४ वर्षीया किशोरीको पेटबाट १०० भन्दा बढी ‘बबल टी बल’ निकालिएको थियो । यसको अलावा भारतकै उत्तर प्रदेशमा एक महिलाको पेटबाट कपालको गुच्छाहरु निकालिएको थियो ।