काठमाडौं । न्युजिल्याण्ड भ्रमणमा रहेको भारत घरेलु टोलीमाथि पहिलो टि-ट्वान्टी खेलमा ६ विकेटले विजयी भएको छ ।पाँच टि-ट्वान्टी सिरिज अन्तगर्त शुक्रबारको पहिलो खेलमा पाहुना टोली भारतले न्युजिल्याण्डमाथि ६ विकेटको जित निकालेको हो ।
जितसँगै भारतले पाँच टि–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ ।अकल्यान्डस्थित इडेन पार्कमा २ सय ४ रनको लक्ष्य पच्छाएको भारत १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको हो । भारतको जितमा युवा खेलाडी श्रेयस ऐयरले अर्धशतकीय पारी खेले ।
२९ बलको सामना गरेको श्रेयसले ५ चौका र ३ छक्काको मदतमा ५८ रन बनाए ।केएल राहुलले ५६ रनको योगदान दिदाँ कप्तान विराट कोहली ४५ रनमा पवेलियन फर्किएका थिए । शिभम दुबीले १३ रन बनाउँदा मनिष पाण्डे १४ रनमा अविजित रहे ।
रोहित शर्माले ७ रन बनाएका थिए । न्युजिल्याण्डका इश सोधीले २ विकेट लिएका थिए ।यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि कोलिन मुनरोले ५९, कप्तान केन विलियम्सनले ५१,रोस टेलरले ५४ र मार्टिन गुप्टीलले ३० रन बनाएका थिए ।दोस्रो टि–ट्वान्टी खेल आइतबार हुनेछ ।