काठमाडाैं ।। हिजोदेखि देशभर हिउँदे वर्षा सुरु भएको छ । हिजो दिउँसोबाट सुरु भएको बर्षा रातभरी पनि जारी छ । तीन दिनसम्म सफा मौसम हुँदा सामान्य रहेको जनजीवन वर्षाका कारण फेरि प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मुलुकको पूर्वी, मध्य तथा पश्चिमी अधिकांश भू–भागमा हल्का र मध्यम वर्षा भएको छ । मौसमविद् राजु प्रधानाङ्गले मध्य तथा पश्चिमका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाभइरहेको सीआईएनलाई जानकारी दिनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले एक सातासम्म झरी पर्ने मौसमविद्को भनाइ छ । हिमाली एवम् उच्च पहाडी भूभागमा हिमपात भएको छ । तराईका भू भागमा हुस्सु र कुहिरो लागेको छ । हिजोदेखि बढेको चिसो एक सातासम्म रहने मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान निकालेको मौसम पूर्वानुमान बुलेटिन अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । नेपालको पश्चिमी, मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।’ वर्षा र चिसोबाट सचेत रहन अनुरोध गर्दै महाशाखाले भनेको छ, ‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।’
देशभर हिउँदे वर्षा सुरु , एक सातासम्म झरी पर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।