काठमाडौं ।। तीन दशकअघि दोलखा चरिकोटका श्यामबहादुर खड्काको करेसाबाट शुरु भएको किवी खेती अहिले देशका २५ जिल्लामा व्यवसायिक रुपमा फैलिएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा झण्डै एकहजार हेक्टर जमिनमा किवी खेती हुन्छ र वार्षिक १० हजार मेट्रिक टन उत्पादन हुन्छ । अहिले दुईसय जना किसान किवीको व्यावसायिक खेतिमा लागेका छन् । सिन्धुपाल्चोकका किसानले पनि यतिबेला लटरम्म किवी फलाएका छन् । पाँचपोखरी थाङपाल ८ का चोकेल शर्मा, लाङटाङ राष्ट्रिय निकुञ्जमा स्थायी जागिरे हुनुहुन्थ्यो । पाँच वर्षयता उहाँको पहिचान किसानको रुपमा फेरिएको छ र व्यवसायिक किवी खेतिमा लाग्नुभएको छ । रोपिएका पाँचसय बोट मध्ये दुईसय बोटले फल दिन थालिसकेको छ । मेलम्ची ९ का थप्परबहादुर भण्डारीले गतवर्ष ६ सय किलोग्राम किवी फलाएर तीन लाख रुपैंया कमाउनुभएको थियो । यसवर्ष उहाँको बारीमा झण्डै ९ सय किलो किवी फलेको छ । मकै खेती गर्दा, वर्षको १० हजार आम्दानी गर्नपनि मुस्किल हुने बारीमा किवी खेती गरेपछि मनग्य आम्दानी भएको छ । पहाडी जमिनमा सहजै उत्पादन गर्न सकिने किवीे फलको उच्च माग र महत्वका कारण किसानले राम्रो फाइदा लिन पाएका छन् । स्थानीय वीरबहादुर गुरुङको बारीमा किवीको २५ वटा बोट छ । राम्रो आम्दानी हुने देखेपछि, यसवर्ष अरु २५ बोट थप्नुभएको छ । उत्पादित किवी घरबाटै विक्री हुने गरेको गुरुङले बताउनुभयो । छिमेकीको बारीमा लटरम्म किवी फलेको देखेपछि गाउँका अरु किसान पनि किवी खेतिमा लागेका छन् । कालिमाया तामाङले पनि चार वर्षअघि ८ बोट किवी रोप्नुभएको थियो । ६ वटा बोटले फल दिन थालेपछि, यसपाली थप २० बोट रोप्नुभएको छ । फलफूलको राजा मानिने सर्वगुनी र लाभकारी किवी एक पोषणयुक्त फल हो । विशेष गरेर बालबालिका र सुत्केरी महिलालाई पोषणका लागि खुवाइने यस फलप्रति उपभोक्ताको रुची बढ्दै गएपछि विभिन्न जिल्लाहरुमा यसको विस्तार हँुदै गएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।