काठमाडौं । केही दिन अघि सूर्य ग्रहण लागेकोमा शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ । तर, नेपालबाट नदेखिने भएकाले त्यसको कुनै असर नपर्ने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । बीबीसी हिन्दीले जनाएअनुसार राति १० बजेर ३७ मिनेटमा भारतबाट ग्रहण देखिने र करिब ४ घण्टासम्म यो रहने जनाइएको छ ।
सिद्धान्त ज्यौतिषका सहप्राध्यापक जयन्त आचार्यका अनुसार हलुका छाया पर्ने हुँदा आजको चन्द्रग्रहण बार्नु पर्दैन । यसलाई भारतका अतिरिक्त एसियाली, युरोप, अफ्रिका र अस्ट्रेलियाका देशबाट देख्न सकिनेछ । यो ग्रहण पौने १ बजेको आसपास प्रष्ट देखिने बीबीसी हिन्दीको सो समाचारमा जनाइएको छ । चन्द्रमाको ९० प्रतिशत क्षेत्रमा पृथ्वीको छाया पर्ने भएकाले यो मधुरो देखिने जनाइएको छ ।
सन् २०२० मा ६ वटा ग्रहण हुने त्यसमा दुई सूर्य ग्रहण र चार चन्द्र ग्रहण हुने खगोलशास्त्रीको भनाइ छ । आजपछि ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा चन्द्र ग्रहण हुने जनाइएको छ । यस्तै, सूर्यग्रहण २१ जुन र अर्को १४ डिसेम्बरमा हुने जनाइएको छ ।
(बीबीसी तथा एजेन्सी)