काठमाडाैं ।। समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै सरकारले राष्ट्रिय जनता पार्टी (राजपा) लाई सत्ता साझेदारीमा सहभागी गराउने रणनीति अघि सारेको छ । सरकारका प्रवक्ता, एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजपाका लागि पनि रातो कार्पेट बिछ्याइएको बताउनुभयो । समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकोमा अब सरकारलाई साधारण बहुमत मात्रै छ । तर समाजवादीले सरकार छोड्नु कुनै आश्चर्यको विषय नभएको सरकारका प्रवक्ता, एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाको भनाइ छ । उहाँका अनुसार राजपालगायत अरु दलले पनि सरकारमा सहभागिता जनाउनसक्ने गरी आन्तरिक छलफल भइरहेको छ । उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले हिजो दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाउनु भएको हो । समाजवादी पार्टीबाटै सहरी विकास मन्त्री बन्नुभएका मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिनुभएको छ । गएको सोमबारको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनको विषयमा प्रस्ताव राखे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो प्रस्ताव अस्वीकार गरेपछि समादवादी पार्टीले हिजो सरकारबाट बाहिरीने निर्णय लिएको हो । सरकारबाट समाजवादी पार्टी बाहिरिएसँगै कतिपयले राजपा सरकारमा जानसक्ने बताएका छन् । तर राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका दुई जना सदस्यले चर्चामा आएजस्तो राजपा सरकारमा जाने सम्भावना नभएको बताएका छन् । अध्यक्ष मण्डलका सदस्यद्वय शरदसिंह भण्डारी र राजकिशोर यादवले राजपा सरकारमा नजाने बताउनुभएको हो ।
समाजवादी बाहिरिएसँगै राजपालाई सरकारमा भित्र्याउने सरकारको रणनीति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।