सुर्खेत ।। कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बैंक खाता खोल्ने अभियान भोलीबाट सुरु गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रमका लागि कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनको बाटो खुलेको हो । कार्यविधि अनुसार १ साउन २०७६ यता जन्मिएका छोरीलाई सरकारले यस कार्यक्रममा समेट्नेछ । कालिकोटबाट भोली सुरु हुने कार्यक्रम प्रदेशभर लागू हुने प्रदेश सरकारले जनाएको छ । यसका लागि बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् । आफ्नो बुबाआमा हुनेले बुबा आमाबाटै र नहुनेले आश्रित संघ–संस्था वा संरक्षकले छोरीको खाता खोलिदिनु पर्ने गरी कार्यविधि बनाइएको छ । यो सुविधा एक दम्पत्तीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र उपलब्ध हुनेछ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने संख्याको सीमा राखिएको छैन । मानव विकास सूचकाङ्कमा पछि परेको कर्णाली प्रदेशमा छोरीहरु माथि हुने असमान व्यवहार हटाउन यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा कर्णाली सरकारको छ । छोरीको उक्त खातामा प्रदेश सरकारले सुरुमै १ हजार रुपैयाँ ब्यालेन्स राखिदिनेछ । त्यसपछि हरेक महिना ५ सय रुपैयाँका दरले प्रदेश सरकार आफैले रकम डिपोजिट गरिदिनेछ । यो रकम प्रदेश सरकारले आवश्यकता अनुसार हेरफेर गर्न सकिने गरी प्रावधान बनाइएको छ ।
कर्णालीमा छोरीको खाता भोलीबाट सुरु हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।