काठमाडाैं ।। संसद सचिवालयले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । संसद सचिवालयले संसदको पाँचौँ अधिवेशन बोलाउने तयारी पूरा भएको जानकारी दिएको हो । अब एक दुईदिन भित्रमा प्रधानमन्त्रीसँग छलफल गरेर अधिवेशन आह्वान गरिने सचिवालयले जनाएको छ । उपसभामुखले आज प्रधानमन्त्रीलाई भेटेर छलफल गर्नुहुने बताइएको छ । अधिवेशनको पहिलो प्रमुख काम सभामुख चयन हुनेछ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथी बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए । सभामुख नहुँदा संसदबाट पारित भएका केही विधेयक प्रमाणीकरण हुनबाट पनि रोकिएका छन् । सभामुख कसलाई बनाउने भन्नेमा भने दलहरु बीचमा सहमति जुटेको छैन । संविधानमा सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्ने उल्लेख छ । हाल नेकपाको तर्फबाट उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे रहनुभएको छ, उहाँलाई उपसभाुमखमा नै कायम राखे नेकपाले सभामुख पद छोड्नुपर्ने हुन्छ । शिवमायालाई उपसभामुखबाट राजीनामा गराएर सभामुख आफ्नो पार्टीबाट र उपसभामुख अर्को दललाइ दिने नेताहरुको तयारी भएपनि उहाँले राजीनामा दिन मान्नुभएको छैन । नेकपाभित्र तुम्बाहाम्फेलाई नै सभामुख बनाएर अर्को दललाई उपसभामुख दिने वा उहाँलाई राजीनामा गर्न लगाएर सभामुखमा अर्का नेता पठाउने र उपसभामुख अर्को दललाई छोड्ने भन्ने विकल्प रहेको छ ।
संसद्को पाँचौं अधिवेशन बोलाउने तयारी पूरा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।