पर्वत ।। नेपालले सन् २०३० सम्म दिगो विकासका लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ । लक्ष्य पूरा गर्नका लागि तीन तहका सरकारसहित नीजि क्षेत्र, आर्थिक प्रतिष्ठान, उद्योगी व्यवसायीले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सबै सरोकारवाला मिलेर लक्ष्य हासिल गर्न प्रतिबद्ध हुने हो भने लक्ष्य पूरा गर्न सकिने सबै बताउँछन् । सरकारले अहिले गरिरहेका अभ्यास र प्रयास हेर्दा लक्ष्य हासिल हुने विश्वासमा हुनुुहुन्छ, पर्वतको कुश्मा नगरपालिका ६ का गणेश गिरी । स्थिर सरकार आएको र सरकारको कार्यक्रम पनि समृद्ध देश बनाउनेतर्फ केन्द्रित भएकाले दिगो विकासको लक्ष्य हासिल गर्न सकिनेमा आफूलाई विश्वास लागेको उहाँ बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलगायतका १७ विषयमा उल्लेख्य सुधार गर्ने दिगो विकासका लक्ष्यमा भनिएको छ । लिइएका लक्ष्य पूरा गर्न सरकारको सोँच पनि दिगो हुनुपर्ने फलेवास ३ शंकरपोखरीका एकजना शिक्षक केशव तिवारी बताउनुहुन्छ । सरकारले लिएको लक्ष्यमा निजि क्षेत्र पनि सकारात्मक छ । उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा दिगो विकासको लक्ष्य पूरा गर्ने जिम्मेवारी सबैको भएकाले सबै क्षेत्रले विशेष प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुहुन्छ । नेपाल लगायत राष्ट्रसंघमा आबद्ध विभिन्न मुलुकले सन् २०१५ मा दिगो विकासका एजेन्डा अनुमोदन गरेका थिए । लक्ष्य हासिल गर्न आफूहरू पनि जिम्मेवार रहेको र सोही अनुसार काम गरिरहको फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा बताउनुहुन्छ । दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि तीनै तहका सरकार लागि परेका छन् । तर विकास, निर्माणदेखि सुशासनका योजना बनाउँदा र कार्यान्वयनमा तीनै तहका सरकारबीच अझ धेरै समन्वय आवश्यक देखिन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here