काठमाडौं ।। एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य हिजाको भन्दा सुधार हुँदै गएको र आज बिहान उहाँलाई भेन्टिलेटरबाट पनि हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सीआईएनलाई जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा हिजो प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखिने थापाले बताउनुभयो । मंगलबार सबेरै पेट दुखेपछि प्रधानमन्त्री केपी शर्मा ओली विहान ९ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुग्नुभएको थियो । चिकित्सकहरुले परीक्षण गर्दा एपेन्डिसाइटिस भएको थाहा भएको थियो । एपेन्डिसाइटिस फुटिसकेकाले तत्कालै अप्रेसन गरिएको थियो । पौने १ बजे डाक्टर रमेश सिंह भण्डारीले एपेन्डिसाइटिसको अप्रेसन गर्नुभएको हो । अप्रेसनपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएको थियो । प्रधानमन्त्री ओलीलाई थप संक्रमण नहोस् र जटिलता नआओस् भन्नका लागि अहिले डाक्टरहरुको उच्च निगरानीमा राखिएको केहीबेरअघि सीआईएनसँगको कुराकानीमा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले बताउनुभयो । अस्पतालले मंगलबार प्रधानमन्त्रीको स्वास्थ्यबारे दुई पटक प्रेस नोट जारी गरेको छ । जसमा एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) देखिएपछि तत्काल ‘ल्याप्रोटोमी’ विधिबाट शल्यक्रिया गरिएको उल्लेख गरिएको छ । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीको शरीरको प्रतिरोधात्मक क्षमता कम छ । त्यसैले उहाँलाई चाँडै ‘इन्फेक्सन’ हुन्छ । चिकित्सकहरुका अनुसार एपेन्डिक्स फुटेर सामान्य मानिसलाई पनि पेटमा ‘इन्फेक्सन’ हुन्छ र समयमा उपचार नभए त्यो रगतमा सर्न सक्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here