काठमाडौं ।। मन्त्रीमण्डल हेरफेर भएको भोलिपल्ट हिजो नवनियुक्त मन्त्रीको स्वागत र पुराना मन्त्रीको बिदाइको चहलपहल सिंहदरबारमा दिनभर देखियो । सपथ, पदभार ग्रहण, बिदाइ तथा स्वागतको माहोलले हिजो सिंहदरबारमा निकै भिडभाड थियो । बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीले सपथ लिइरहँदा सिंहदरबार भने निजामती कर्मचारी र नेता कार्यकर्ताले भरिंदै थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पूर्व मन्त्री थममाया थापाको बिदाइ अनि नवनियुक्त मन्त्री पार्वत गुरुङको स्वागत एकै समयमा ग¥यो । पूर्व मन्त्री चक्रपाणी खनाल र नवनियुक्त मन्त्री घनश्याम भुसालबीच कृषि मन्त्रालयमा पदभार ग्रहणका क्रममा फरक दृश्य देखियो । एकअर्काको अङ्कमाल, कुराकानी र हस्त मिलान अरुकोभन्दा फरक देखिन्थ्यो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने सिंहदरवार जानु भएन । पण्डितका अनुसार त्यही समयमा कोठा खोज्नका लागि चाँजोपाँजो मिलाउनुप¥यो । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट नवनियुक्त मन्त्री रामेश्वर राय यादवले पदभार सम्हाल्नु अघि नै एकबजे मन्त्रालयको बिदाइ कार्यक्रममा सहभागी हुनुभयो । बर्खास्तमा पर्नुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र नवनियुक्त मन्त्री बसन्त नेम्वाङबीच पनि मन्त्रालयमा भेट भयो । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयमा करिब दुई घण्टाको पर्खाइपछि पुग्नुभएका नवनियुक्त मन्त्री लेखराज भट्टले नयाँ तरिकाले जाने प्रतिवद्धता जनाउनुभयो । पूर्व उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादव पनि मन्त्रालयमा पुग्नु भएन । सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तत्कालिन कानुनमन्त्री भानुभत्त ढकालले हस्ताक्षर गर्नुभयो । राज्यमन्त्रीमा पद्भार सम्हाले लगत्तै नवराज रावतले सीआईएनसँगको कुराकानीमा आफू एक्लैले ठूलो परिवर्तन ल्याउन नसक्ने तर अहिलेको सरकारको गति हेर्दा नागरिकले निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । सिंहदरबारसम्म सरकारी गाडी चढेर आउनुभएका पूर्व श्रम मन्त्री गोकर्ण विष्टले मन्त्रालयदेखि मुख्य गेटसम्म र त्यहाँबाट घर जानलाई ट्याक्सी चढ्नुभयो । तीन राज्यमन्त्री सहित २५ सदस्यीय मन्त्रीमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना मन्त्री फेरेर नयाँ थप्नुभयो भने तीन जना राज्यमन्त्री पनि फेरिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here