काठमाडौं ।। नवनियुक्त तथा पुराना मन्त्रीहरूले आफू मातहतका विभागले गरेका कामकारबाहीको प्रगति विवरण चार दिनभित्रमा बुझाउनुपर्ने भएको छ । मन्त्रिपरिषद् पुनर्गठनपछि हिजो साँझ पहिलो पटक मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न निर्देशन दिनुभएको हो । पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने अब नचल्ने भन्दै प्रधानमन्त्री ओलीले भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनुपर्ने धारणा राख्नुभयो । विकासका लागि सरकारको समथ्र्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने अवस्था अन्त्यका लागि विशेष योजनाका साथ काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो । आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने उहाँको भनाइ थियो । विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति काम अघि बढ्दा स्वतः हट्नेमा जोड दिँदै निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले म आफैं धुलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ । तर, जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धुलो उड्नु भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ।’ प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सीधै कारवाहीको भागीदार हुने पनि चेतावनी दिनुभयो । ‘विकास आयोजनामा सही गर्ने बेला फलानालाई प्रधानमन्त्रीलाई दिनुपर्छ भनेर कसैले भन्छ भने, त्यो नेपाललाई गरिबीबाट मुक्त गर्ने यो सरकारको नीति विपरित काम गर्दैछ भन्ने स्पष्ट बुझे हुन्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई केही चाहिँदैन, तपाईंहरुलाई पनि गाडी छ, राम्रो तलव छ । यति धेरै सुविधा पाउने भाग्यमानी हुनुहुन्छ, यो भन्दा बढी के चाहियो ? यदि कसैले लोभ गरेर तलमाथि गरे कारबाही हुन्छ, मैले अनुगमन गरिरहेको हुन्छु ।’ सरकारको कामप्रति हुने विरोध तीन प्रकारका रहेको वताउँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न तर, वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधप्रति वास्ता नगर्न आग्रह गर्नुभयो । चार दिनपछि सबै मन्त्रालयबाट रिपोर्ट लिनेगरी अघिल्लो चौमासिक समीक्षाका लागि बैठक बस्ने पनि प्रधानमन्त्रीले बताउनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here