काठमान्डु ।। हिजोदेखि सुरु भएको ‘आप्रवासी कामदारको मानव अधिकार संरक्षणसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन’ मा आज दुईवटा विषयमा छलफल हुँदैछ ।
आज आप्रवासी कामदारहरुको न्यायमा पहुँच र मानव अधिकारका संस्थाहरुसँगको समन्वयका विषयमा छलफल हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । सम्मेलन आप्रवासी कामदारको अधिकार संरक्षणका लागि अन्तरदेशीय राष्ट्रिय मानवअधिकार संस्थाबीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
सम्मेलनमा अन्तरदेशीय सरकारी तथा गैरसरकारी संस्थाबीच संवाद र सहकार्यका माध्यमबाट प्रवासी कामदारको मानवधिकार संरक्षण तथा कामदारले भोग्नुपरेका समस्या समाधानका उपाय खोजिनेछ । सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने र त्यसको कार्यान्वयनको पहल गर्ने मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले सीआईएनलाई जानकारी दिनुभयो ।
नेपालसहित दक्षिण एसियाली देशबाट खाडी लगायतका मुलुकमा काम गर्न जाने कामदारको सङ्ख्या उल्लेख्य छ । उनीहरुको समस्या साझा हुने भएकाले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सम्मेलन फलदायी हुने श्रम तथा वैदेशिक रोजगार विज्ञ सरु जोशीले बताउनुभयो । सम्मेलनमा मानवअधिकारका लागि विश्वव्यापी सञ्जाल, केन्या, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्याण्ड लगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानव अधिकार क्षेत्रमा क्रियाशील सघं संस्थाका प्रतिनिधि सहभागी छन् ।