सञ्जय मित्र ।। रौतहटको गरुडामा डेंगुले महामारीको रुप लिँदै छ । गरुडा र कटहरिया नगरपालिकाको केही गाउँमा डेंगुले महामारीको रुप लिएको देखिएको छ ।
दुई हप्तामा ३५ जनाले उपचार गराएको र हरेक दिन डेंगुको रोगी थपिने गरेको गरुडामा रहेको अनामिका अस्पतालका प्रमुख डा. आरबि प्रसादले बताएका छन् । अस्पतालमा अन्य बिरामीलाई डेंगु नसरोस् भनेर अन्य वैकल्पिक व्यवस्था गरिए पनि झुलमा राखेर डेंगु रोगीको उपचार गरिएको डा. आरबि प्रसादले जनाएका छन् । डेंगु अचम्म किसिमले फैलिएको बताउँदै डा. आरबि प्रसादले तत्काल नियन्त्रण नगरिए गम्भीर संकट देखापर्ने अवस्था आएको पनि उनले बताएका छन् ।

गरुडाकै नपाको शिवनगरमा रहेको संजीवनी क्लिनिकमा दुई हप्तामा १० जना डेंगुको उपचार गराइसकेको डा. संजीवकुमार यादवले बताएका छन् । नपाकी उपमेयर रंगिलादेवी जयसवालमा पनि डेंगुको संक्रमण देखिएको र काठमाडौँमा उपचार गराएको जानकारी डा. यादवले दिएका छन् ।

गरुडामा रहेका अन्य अस्पतालमा पनि डेंगुको रोगीले उपचार गराएको हुन सक्ने देखिन्छ । दुई चार दिन घरमा ज्वरोको उपचार गराउने गरेको र वीरगंज, हेटौँडा, भरतपुर तथा काठमाडौँसम्म उपचारको लागि जाने गरेको देखिएको छ ।

अनामिका अस्पतालमा उपचार गराइरहेको गरुडा ४ का हृदयनारायण कुशवाहाले आफ्नो टोलामा घरघरै डेंगुको लक्षण देखिने ज्वरो फैलिएको बताएका छन् । घरमै उपचार गराउनेहरुको संख्या पनि दर्जनौको हाराहारीमा रहेको कुशवाहाले बताएका छन् ।

कटहरिया नगरपालिकाको डुमरिया टोलमा पनि तीनजनामा डेंगुको संक्रमण देखिएको डा. संजीवकुमार यादवले जानकारी गराएका छन् ।
मध्यरौतहटको गढीमाई नगरपालिकामा डेंगु रोगको संक्रमण अहिलेसम्म देखिएको आफूलाई जानकारी नरहेको मेयर श्यामप्रसाद यादवले बताएका छन् ।
गरुडा नगरपालिकामा डेंगुको संक्रमण अत्यधिक बढेको र केही दिनमै डेंगुविरुद्धको औषधि छर्ने तयारी भइरहेको गरुडा नगरपालिकाकी उपमेयर रंगिलादेवी जयसवालले बताएकी छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here