काठमाडौं ।। भारतले गत हप्ता सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय सीमाभित्र राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ । तर ७० वर्ष देखि भारतले नेपाली भूभागलाई कसरी आफ्नो सीमाना भित्र राख्यो ? ऐंतिहासिक तथ्य र जानकारी सहित विज्ञहरुले हिजो छलफल गरे । सन् १८२७ मा ब्रिटिश सर्भेअर अफ इन्डियाले गढवाल–कुमाऊँ नाम दिएर एउटा नक्सा बनाएको थियो । त्यसमा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनेर प्रस्टसँग उल्लेख गरिएको छ । यो नदीभन्दा पूर्वतर्फ कालापानी पर्छ । यही नक्साको आधारमा लिपुलेक, कालापानी लगायत नेपाली भूभाग हुन् । तर नेपाल ७० वर्षअघि आफ्नो भूमी भारतीय नक्शामा पर्दा पनि किन बोलेन ? जलस्रोत विज्ञ डाक्टर जगत नेपाल भन्नुहुन्छ, ‘जुल बेला हामीले लिपु खोलालाई महाकाली शिर मानेर हाम्रो नक्सा निकाल्यौं त्यो ठूलो गल्ती भएको हो । यही गल्तीलाई समातेर उसले एउटा खोल्सी बनायो अहिले । बिना तथ्य, बिना आधार हामीले लिपुलाई महाकालीको शिर मान्यौं । ’ भारतले लिम्पियाधुराबाट निस्केको नदीलाई काली नदी नमानेर, एउटा पहाडबाट निस्केको सानो खोलालाई काली नदी भएको दाबी गर्छ । भारत स्वतन्त्र भएदेखि बनाउँदै गएको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारिएको छ । सन् १९७५ देखि नेपालले नक्सा निर्माण गर्न थालेपनि किन लिम्पियाधुरा परेन ? भन्ने प्रश्नमा नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बरालले भन्नुभयो, ‘यो सीमा नक्सा त होइन, सीमा नक्सामा के हुन्छ भने दुईटै देशको प्रतिनीधिहरुले सही गरेको सीमा नक्सा हुन्छ । र यो हाम्रो देशको कुनै प्रतिनीधिलाई जानकारी नगराईकन एकलौटी रुपमा प्रकाशित गरिएको नक्सा हो र यो राजनीतिक नक्सा हो ।’ केही विज्ञले नेपालका तत्कालिन शासकको मौनताले भारतीय विस्तारवादलाई सघाएको टिप्पणी गरेका छन् । वि.सं. २०३६ सालमा दार्चुला जिल्लाको प्रमूख जिल्ला अधिकारी बन्नुभएका डा. द्धारिकानाथ ढुंगेल सरकारले ७० वर्षअघि के आधारमा बस्स्न दियो भन्नेकुरा खोज्नुपर्ने बताउनुहुुन्छ । बलिया प्रमाण हुँदा पनि नेपाली सत्ताको नेतृत्व गरेकाहरुले खोजी नगर्दा, लिपुलेकदेखि पश्चिमको लगभग तीनसय ७४ वर्गकिलोमिटर भूभाग भारतले आफ्नो नक्शामा गाभेको छ । भारतले नेपाली भूमी अतिक्रमण गरेको विषयमा नागरिकस्तरबाट विरोध हुने गरेको भएपनि सत्तामा रहेकाहरुले कुटनितिक पहल नगरेका वरिष्ठ पत्रकार भैरव रिसाल बताउनुहन्छ । नेपाल र भारतको सीमा भन्नाले सन् १८१६ मा इस्ट इन्डिया कम्पनी (तत्कालिन बेलायति साम्राज्य) र नेपालबीच भएको सुगौली सन्धिमा उल्लेखित सीमाना हो । भारतले नेपाली भूभाग मिचिरहँदा सुगौली सन्धीको औचित्य सकिने कतिपय विज्ञहरुको तर्क छ ।
नेपाली भूमी मिचिएकोबारे विज्ञको बहस
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।