काठमाडौं ।। राजनीतिक दलहरुले नेपाली भू–भाग भारतले मिचेको विषयमा एक ठाउँमा उभिएर प्रतिवाद गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सर्वदलीय बैठकमा सरकारले नेपाली भूमी रक्षाका लागि पहल थाल्ने र सबै दलहरुले साथ दिने सहमति भएको हो । भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतको नेपाली भू–भाग आफ्नो भू–भागमा पारेको विषयमा सरकारले प्रभावकारी कुटनीतिक पहल थाल्ने भएको हो । बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमा सीमाका समस्या समाधान गर्न अग्रसर रहेको छ” उहाँले थप्नुभयो, “सीमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्छ ।” भारतको व्यवहारमा परिवर्तन आएको भन्दै उहाँले भन्नुभयो, ‘हिजो सिमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु । ’ प्रधानमन्त्री ओलीले हालको सीमा विवादको विषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन पनि निर्देशन दिनुभएको छ । “उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाएर आफ्नो भूभाग फिर्ता लिन्छौं ।” बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राजनीतिक र कुटनीतिक पहल गर्ने विषयमा सबै दलहरुले साथ दिने साझा सहमति भएको बताउनुभयो । उहाँले नेपाल भारतबीच अहिले नै केही संयन्त्र रहेको र सरकारले आवश्यक परे त्यस भन्दा माथि उठेर प्रधानमन्त्री तहमा वार्ता गर्न सक्ने तयारी भइरहेको जानकारी दिनुभयो । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत लामो समयदेखिको सीमा विवाद कुटनीतिक माध्यमबाट हल गर्नुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद अन्त्य गर्ने सरकारको पहलमा साथ दिने बताउनुभयो । बैठकमा सहभागी राप्रपा (संयुक्त)का नेता डाक्टर प्रकाशचन्द्र लोहनीले दलहरुबाट सरकारले लिएको अडानमा कायम रहन सुझाव आएको र सरकारको साथमा रहने प्रतिवद्धता जनाइएको बताउनुभयो । बैठकमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, विदेश मामिलाका जानकार तथा प्रमुख प्रतिपक्षि दलका नेता तथा सबैजसो राजनीतिक दलका नेताको सहभागिता थियो । पछिल्लो समय भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमी भारतमा राखेपछि विरोध भइरहेको छ । चौतर्फी विरोध भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे परामर्श गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here