काठमान्डु ।। अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ । ‘अकुपाई टुँडिखेल अभियान‘ अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो ।
पूर्वयोजना टुँडिखेल नै घेर्ने थियो, तर उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति नभएपछि खुलामञ्च र रत्नपार्कमात्र घेरिएको थियो । एकअर्काको हात समातेर घेर्न पुग्ने मानिसहरु नभएपछि हरियो रंगको रिबन टाँगेर मानिसहरुले त्यही रिबन समातेका थिए ।
नागरिकस्तरबाट आयोजित यो कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए । सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-6-1.jpg)
उनीहरुले ‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उदघाटन गरेपछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाइएको थियो । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ताहरुले सार्वजनिक सम्पत्ति संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-8.jpg)
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानअन्तर्गत तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानका अभियन्ता आलोक तुलाधरले जानकारी दिए । टुँडिखेल नै मासिने अवस्था आएकाले ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको उनले बताए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-9.jpg)
काठमाडौंको मुटुमा अवस्थित टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा मात्र सार्वसाधारणको पहुँचमा छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनाइएको छ ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-7.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-5-1.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-4-1.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-2-1.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-3-1.jpg)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2019/11/Occupy-Tundikhel-6.jpg)
सभार :- तस्वीर : चन्द्र आले/अनलाइनखबर