काठमान्डु ।। भारतले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक आफ्नो नक्सामा राखेपछि त्यसबारे परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । भारतले सार्वजनिक गरेको नक्सालाई लिएर नेपालमा चर्को विरोध भइरहेको छ ।

प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजेका लागि मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । भारतको नयाँ नक्साबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । प्रतिपक्ष दलहरूले पनि त्यसबारे आफ्नो धारणा बताइरहेका अवस्थामा अन्य दलहरुँंग पनि छलफल गरी यो बिषयलाई कसरी अगाडी बढाउने भन्ने बारेमा निर्णय गर्न बैठक डाकिएको अधिकारीले बताउनुभयो । बैठकमा सबै पार्टीका पूर्व परराष्ट्रमन्त्रीहरू समेत उपस्थित हुनेछन् । राष्ट्रियताको सवालमा दल भन्दा माथी उठेर एक हुन र कुटनीतिक माध्यमद्धारा समस्याको समाधान गर्न काँग्रेसले यसअघि नै सरकारसँग आग्रह गरिसकेको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार काठमाडौंस्थित भारतीय राजदूतलाई टेलिफोन गरी कालापानी र लिपुलेक नेपालको भूमी भएको बताउनुभएको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमीलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

अनेरास्ववियूले हिजो भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको थियो । सीआईएनसँग कुराकानी गर्दैै अनेरास्ववियूका सचिव आरसी लामिछानेले भारतले नेपाली भूमि समेत आफ्नो बनाइ सार्वजनिक गरेको नक्साको विरोधमा निरन्तर आन्दोलन गर्ने जानकारी दिनुभयो । सचिव लामिछानेका अनुसार अनेरास्वियुले भोली आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने छ भने त्यसको भोलीपल्ट सोमबार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ ।

राष्ट्रियताको मुद्धामा सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता भएकाले नेपाल विद्यार्थी संघ लगायत अन्य दलका विद्यार्थी संगठनसँग मिलेर संयुक्त आन्दोलन गर्ने बारेमा पनि छलफल भइरहेको नेता लामिछानेले बताउनुभयो । हिजै प्रतिपक्षी नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here