काठमाडौं ।। देशभित्रका उद्योगमार्फत् वर्षमा आठ करोड जोर जुत्ता–चप्पल उत्पादन हुन्छ । आधा नेपालमा बन्छ, बाँकी ५० प्रतिशत जुत्ता–चप्पल आयात गरिन्छ । धेरैलाई लाग्न सक्छ, यतिका नेपाली जुत्ता–चप्पल उद्योगहरूमा काम गर्ने पुरुष कामदार नै होलान् । कुल बजारको करिब आधा कारोबार ओगटेको नेपाली जुत्ता उत्पादनमा आधाभन्दा बढी कामदार महिला छन् । कतिपय उद्योग अहिले पूरापूर महिला कामदारको भरमा छ । त्यस्तै मध्येको एक हो, काठमाण्डुको बालाजुमा रहेको जुत्ता चप्पल उद्योग । रामेछापका तोला तामाङ बालाजुमा रहेको जुत्ता चप्पल उद्योगमा काम गर्नुहुन्छ । हामी पुग्दा उहाँ प्रशोधित छालालाई जुत्ता बनाउनेगरी आकार दिंदै हुनुहुन्थ्यो । उहाँले यसैगरी काम गर्न थालेको ८ बर्ष भयो । तोलाले काटेर ठिक्क पारेको छाला तल्लो तलामा रहनुभएको माया तामाङकोमा पुग्छ । माया तामाङ तोलाले काटेर ठिक्क पार्नुभएका छाला सिलाएर जुत्ता तयार पार्नुहुन्छ । मायाले सिलाउने काम मात्रै गर्नुहुन्छ । सिलाउँदा निस्किएको धागाहरु काटेर अझै राम्रो बनाउने काम भने सुनिता श्रेष्ठले गरिरहनुभएको छ । अब, तयार भएका जुत्तालाई थप राम्रो बनाएर अन्तिम रुप दिने कामचाहिँ अनिता बस्नेतको समुहले गर्दछ । अनि तयार भएका जुत्ताहरु प्याकिङ हुन्छ । यसैगरी उद्योगमा २५ जना महिलाहरुले काम गरिरहेका छन् । उनीहरु उद्योगमा जुत्ताको तलुवा काट्नेदेखि सिलाउने, किला ठोक्ने, पालिस लगाउने र प्याकिङ गर्ने सम्मका काममा गरिरहेका छन् । काम गर्दा आत्मविश्वास बढेको बताउनुहुन्छ, उद्यमी अन्जना श्रेष्ठ । सुरु सुरुमा जुत्ताको काम गर्दा महिलाहरुलाई काम गर्न असहज लागेको थियो । तर विस्तारै जुत्ता बनाउने काम नै आम्दानीको स्रोत बनेपछि आफूले गरेको कामप्रति उनीहरु सन्तुष्ट छन् । उद्योगमा महिलाहरुले दिनमा ४० जोरसम्म जुत्ता उत्पादन गर्ने गर्छन् । फूटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफम्यान) का अनुसार देशभित्रका उद्योगमार्फत् वर्षमा आठ करोड जोर जुत्ता–चप्पल उत्पादन हुने गरेको छ । जसबाट करिब १९ अर्ब बराबरको कारोबार हुने गरेको छ । कुल बजारको करिब आधा कारोबार ओगटेको नेपाली जुत्ता उत्पादनमा झण्डै ५० प्रतिशत कामदार महिला छन् ।
जुत्ता चप्पल उत्पादनमा बढी महिला मजदुरकै भर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।