काठमान्डु ।। चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।
त्यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
“चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उहाँले भन्नुभयो । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ । चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।