।। ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा बलियो टोली आयरल्याण्डको सामना गर्न लागेको हो । नेपाल र आयरल्याण्डबीचको खेल बिहान सवा ११ बजेबाट सुरु हुनेछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाल आयरल्याण्डलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्डलाई पराजित गरेको थियो । नेपाल टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै इतिहास बनाउन चाहन्छ । नेपाल दुई खेलबाट ४ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । समान अंक भएपनि रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले भोली आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।