रुपन्देही ।। रुपन्देहीको तिलोत्तमा नगरपालिमा बृहत लगानी सम्मेलन हुने भएको छ । भोली हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ । राष्ट्रिय लगानी सम्मेलनकै झल्को दिनेगरि लगानी सम्मेलन गर्न लागिएको छ । स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न काठमाडौंबाहिर पहिलोपटक सम्मेलन हुन लागेको हो । सम्मेललनको अघिल्लो दिन आज सातवटै प्रदेशका अर्थमन्त्रीसहित मुख्यमन्त्रीसँग अन्तरक्रिया कार्यक्रम गरिने छ ।

लगानी सम्मेलनको आयोजनाले तिलोत्तमा, भैरहवा र बुटवल क्षेत्रमा चहल पहल मात्रै बढाएको छैन, स्थानीय नागरिकलाई आशा पनि जगाएको छ । लगानी सम्मेलनमा किसानलाई फाइदा पु¥याउने, पर्यटक र रोजगारी बढाउने परियोजनाको सम्झौता गर्ने तयारी छ ।

नगरपालिकाले परियोजना भित्र्यााउन लगानीकर्तालाई जमिन, राजश्व र सरकारी प्रक्रियामा सहुलियत प्रदान गर्ने जनाएको छ । सम्मेलनबाट तिलोत्तमासँगै सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका लगायत छिमेकी स्थानीय तहले पनि लाभ प्राप्त गर्ने आम मानिसको अपेक्षा छ ।

स्थानीय खुशी

लगानी सम्मेलनबाट रोजगारी सृजना हुने भन्दै स्थानीय खुशी भएका छन् । नगरपालिकाका पर्यटकीय स्थल जोड्ने गरी रेल सञ्चालन, दुग्ध प्रशोधन केन्द्र, फोहर मैला प्रशोधन केन्द्र, कृषि उपज संकलन केन्द्र, प्रादेशिक बसपार्क, दक्ष जनशक्ति तयार गर्न प्रशिक्षण केन्द्र, क्यान्सर अस्पताल, एकीकृत पर्यटकीय योजना लगायतका आधा दर्जन परियोजनामा लगानी सम्झौता (एमओई) हुने निश्चित भएको छ ।

यसबाट ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी भित्र्याउने लक्ष्य रहेको तिलोत्तमा नगरपालिकाका प्रमूख बासुदेव घिमिरेले बताउनुभयो । सम्मेलनमा १२ देखि १५ जना चीन, भारत, कोरिया, बंगलादेशबाट लगानीकर्ताको सहभागिता रहनेछ । स्वदेशी लगानीकर्तासहित करिब साढे ५ सयको संख्यामा सहभागी रहने अपेक्षा गरिएको छ ।

खर्च र लगानी अनुमान

सम्मेलनका लागि करीब ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैंयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । 

सम्मेलनमा सहभागिताका लागि मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया समेत गरिनेछ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरनाहरूका साथै भारत, चीनबाट लगानीकर्ताहरू सहभागी हुनेछन् । 

तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नयाँ नगरपालिका हो । साविकका सात वटा गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया, टिकुलिगढ) मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भैरहेको क्षेत्र हो । यहाँ दिनहुँ चार वटा नयाँ घर थपिने गरेका छन् भने उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ । 

रुपन्देहीकै मध्यभागको अवस्थिति, बीचबाट सिक्सलेन र बौद्ध परिक्रमा पथ, भारतीय सीमाबाट नजिक, नजिकैं बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, पर्याप्त खुला क्षेत्र, सडक, विद्युत्, पानीको पर्याप्तता जस्ता कारणले यहाँ लगानी बढिरहेको छ । श्राेत राजन रुचाल सीआईएन 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here