काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो पार्टीलाई ललिपप देखाएर सत्ता गठबन्धनका नेताले धूर्तखेल खेलेको आरोप लगाएका छन् । तर, आफूहरूले उनीहरूका सर्त अस्वीकार गरेको ओलीले बताए ।
नेकपा एमाले केन्द्रीय समिति बैठकलाई मंगलवार पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई केही सिट दिने नाममा नाजायज तर्क राखेको बताएका हुन् ।
‘उहाँहरूले हामीलाई लालिपप देखाएर सिद्धान्त, नीति छाड्छौं भन्नेजस्तो धूर्त खेल देखाउनुभयो । प्रचण्ड, देउवाले बोलाएअनुसार गयौं, साक्षीको बिन्दुमा पुगेपछि नसकिने भन्नुभयो’ ओलीले भने, ‘कुनै पनि हालतमा गर्छौं भनेको कुरा अरु सहयोगीले मानेनन् भन्नेजस्तो कुरा राख्नुभयो । हामी आफ्ना नीति र दृष्टिकोणमा प्रष्ट थियौं ।’
शान्ति प्रक्रिया टुंग्याउन सहयोग गरेमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनले एमालेलाई केही सिट दिने प्रस्ताव गरेको थियो । ‘टीआरसीको काम भोलि नै गर्ने, त्यसबापत एमालेलाई कांग्रेसपछिको सीट दिने प्रस्ताव गरिएको थियो’ ओलीले भने, ‘राष्ट्रिय सभाका सदस्यका केही पद देखाएर हामीलाई आफ्नो सिद्धान्त छाड्न लगाउने कुरा थियो, त्यस स्थितिमा हामी त्यसका पछाडि कुद्नु थिएन ।’
सत्ता गठबन्धनका नेताले एमालेलाई ललिपप देखाएर धूर्त खेल खेले– अध्यक्ष ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।