काठमाडाैं ।। आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ मा नेपालले हारबाट आफ्नो यात्रा शुरू गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा घरेलु टोली नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको हो । नेपालले ब्याटिङमा आवश्यक गर्न नसक्दा हार ब्यहोर्नुपरेको छ । नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको थियो । यो लक्ष्य नामिबियाले ६ विकेटको क्षतिमा ३१.१ ओभरमै १३४ रन बनाएर सजिलै पूरा गर्यो ।नामिबियाका लागि जान फ्राइलिन्सले सर्वाधिक ३४ रन बनाए । जान निकोल लोफ्टी–इटोनले अविजित ३१ रन जाेडे । नेपालले बलिङमा पनि खराब शुरूवात गरेको थियो । अन्त्यतिर भने बलरहरू लयमा आएका थिए । नामिबियाका लागि गेर्हार्ड इरास्मसले ५ विकेट लिए । २०२७ मा हुने क्रिकेट विश्वकपमा छनोटको प्रक्रियाअन्तर्गत बिहीवारदेखि काठमाडौंमा पहिलो सिरिज शुरू भएको हो । लिग– २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन् । आईसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टीम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् । पुछारका ४ टीमले प्ले अफ खेल्नुपर्नेछ । शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुनेछ । त्यस्तै, ७ गते फेरि नामिबियासँग र १३ गते नेदरल्यान्ड्ससँग हुनेछ ।
विश्वकप क्रिकेट लिग–२ : नामिबियासँग ४ विकेटले नेपाल पराजित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।