जनकपुर।। सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शक्ति सन्तुलनका लागि अहिलेको गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।
गठबन्धनले विचार मिल्नेहरू र सँगै जान सक्नेहरूलाई साथमा लिएर अघि बढ्न खोजेको उनले बताए ।
‘यस अर्थमा हामी अहिलेका जति पनि राजनीतिक दलहरू छन्, तिनीहरूमध्ये अहिले सामेल दलहरूका बीचमा एकतालाई बलियो बनाउन चाहिरहेका छौं,’ पार्टी मधेस प्रदेश कमिटी बैठकलाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उनले भने ।
उनले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न नसकिने पनि बताए ।
‘वर्तमान गठबन्धनलाई कसैले ढाल्न सक्दैन। यो गठबन्धनको अहिले कुनै विकल्प छैन,’ उनले भने, ‘लोकतन्त्र, संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक छ ।’
उनले गठबन्धनमा रहेका दलहरू सहकार्य गर्दै अघि बढेको बताए। ‘तर एउटा कुरा पक्का छ, यो गठबन्धनले नै हाम्रो पीडा पार लगाउँछ भन्ने सोच्नु हुँदैन ।’
उनले नेकपा (एमाले) लाई शत्रु नठानेको पनि बताए। ‘हाम्रो पार्टीले एमालेलाई शत्रु ठानेको छैन, तर नोक्सान पुर्याउन खोजेमा प्रतिवाद भने गर्छौं,’ उनले भने । (न्युज एजेन्सी नेपाल)
वर्तमान गठबन्धनलाई कसैले ढाल्न सक्दैन- माधव नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।