जनकपुर ।। मधेस प्रदेश मन्त्रिपरिषदमा मुख्यमन्त्री, ११ मन्त्री र दुई राज्यमन्त्री गरी जम्मा १४ सदस्य छन् । मन्त्रिपरिषदका यी १४ सदस्यका लागि प्रदेश सरकारले तलब सुविधाबापत मात्र मासिक ८ लाख ३७ हजार ५३० रुपैयाँ खर्च गर्दै आएको छ । यस अतिरिक्त पनि मुख्यमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुले सेवा–सुविधा प्राप्त गर्दै आएका छन् । मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले प्रतिमहिना ६२ हजार ९७० रुपैयाँ मासिक तलब प्राप्त गर्दछन् । यसबाहेक उनले कानुन अनुसार अन्य थप सुविधासमेत प्राप्त गर्दछन् । मुख्यमन्त्रीलाई आवास सुविधा, फर्निचर, सवारी साधन २ वटा, प्रतिमोटर मासिक ३ सय लिटर इन्धन, १० लिटर मोबिल, ३ हजार ५ सय रुपैयाँ बराबरको सञ्चार सुविधा, धारा तथा बिजुलीको प्रतिमहिना बिल अनुसार भुक्तानी, भ्रमण भत्ताबापत स्वदेशको हकमा दैनिक ३ हजार रुपैयाँ र विदेशको हकमा दैनिक २२५ अमेरिकी डलर, अतिथि सत्कारका लागि प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध हुन्छ । साथै मुख्यमन्त्रीको निजी सचिवालयमा नेपाल सरकारको सहसचिव सरहको सेवा सुविधा पाउने गरी स्वकीय सचिवसहित उपसचिव, शाखा अधिकृत, नायव सुब्बा, कार्यालय सहयोगी र भान्छे गरी १४ जना राख्न सकिने व्यवस्था छ । मुख्यमन्त्रीलाई प्रेस सल्लाहकार समेत राख्ने सुविधासमेत छ । मुख्यमन्त्रीको निजी सचिवालयमा रहेका सबै कर्मचारीको तलब–भत्ता सरकारले नै बेहोर्दै आएको छ । मधेस सरकारका मन्त्रीहरुले मासिक ५९ हजार ७८० रुपैयाँ तलब सुविधा पाउँछन् । यस आधारमा मधेस सरकारले ११ मन्त्रीका लागि मासिक ६ लाख ५७ हजार ५८० रुपैयाँ खर्च गर्दै आएको छ । मधेस सरकारमा दुई राज्यमन्त्री छन् । मधेस सरकारका राज्यमन्त्रीका लागि मासिक ५८ हजार ४९० रुपैयाँ तलबको व्यवस्था छ, जसअनुसार दुई राज्यमन्त्रीका लागि मासिक एक लाख १६ हजार ९८० रुपैयाँ खर्च हुन्छ । मन्त्री र राज्यमन्त्रीहरुको अन्य सेवा सुविधाको हकमा आवास सुविधा र फर्निचर सुविधाका अतिरिक्त एउटा सवारी साधन पाउँछन् । यस्तै, मन्त्रीले प्रति महिना २५० लिटर र राज्यमन्त्रीले २२५ लिटरका दरले इन्धन पाउँछन् । यस्तै, मोबिल १० लिटर, सञ्चार सुविधा अन्तर्गत मन्त्रीलाई मासिक ३ हजार ४ सय, राज्यमन्त्रीलाई ३ हजार ३ सय तोकिएको छ । श्राेत – राताेपाटी
मधेसका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब सुविधा बढेको बढ्यै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।