File Photo

बारा ।। दुई जना नेपालीलाई अपहरण गरेको आरोपमा भारतबाट ६ जना अपहरणकारीलाई पक्राउ गरिएको छ । चितवनको भरतपुरका कृष्ण थापा तथा रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम तथा ईरसाद शेख छन् । उपरीक्षक गिरीका अनुसार गत पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए । तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक म्यासेन्जरमार्फत श्रीमतीलाई कल गरेर आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए । उक्त सूचना प्रहरी कार्यालय भरतपुरका साथै जिल्ला प्रहरी कार्यालय बारामा समेत पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसँग सहयोग तथा समन्वय गरी अप्रेसन सञ्चालन गरेकामा पुस १० गते भारतको सितामढी डुम्रा थानाबाट खटिएको भारतीय प्रहरीले अपहरणमा परेका थापा र महतलाई सितामढीबाट सकुशल उद्धार गरेको उपरीक्षक गिरीले बताइन् । भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ । यसैगरी पीडितलाई प्रहरीले नेपाल ल्याएर आफन्तको जिम्मा लगाइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here