काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेपनि निरास नहुन कार्यकर्तालाई ढाडस् दिएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै नेपालले पार्टीले आम चुनावमा १० सिट जित्नु चानचुने कुरा नभएको दाबी गरेका छन् । ‘अहिले हाम्रो पार्टी पहिलो नम्बरमा छैन। कमजोर पनि छैन। प्रत्यक्षमा १० सिट जित्नु सानो कुरा होइन’, उनले भने, ‘सातै प्रदेशमा हाम्रो उपस्थिति छ, ७७ वटै जिल्लामा पार्टी कमिटी छ। पार्टी कहिले सानो हुन्छ, कहिले ठूलो यो क्रम चलिरहन्छ।’ उनले पार्टीमा नेता-कार्यकर्तालाई टिकाएर राख्न विशेष पहल गर्नुपर्ने बताए। दोलखा र धनुषासहितका जिल्लामा पार्टीप्रति लोभलाग्दो आकर्षण देखिएको भन्दै नेपालले अब योगदानका आधारमा सबैलाई उचित जिम्मेवारी दिनुपर्ने बताएका छन्।
पार्टी छाडेर गएका वरिष्ठ नेता मुकुन्द न्यौपाने र उपाध्यक्ष केदार न्यौपानेलाई पनि नेपालले सम्बोधनका क्रममा सम्झिएका छन्। छाडेर जानेलाई सम्झेर अब बसिरहनुको अर्थ नरहेको उनको भनाइ छ।
‘मुकुन्द न्यौपाने जानु भयो, उपाध्यक्ष केदार न्यौपाने पनि पार्टी छाडेर जानु भयो। हामीले जिम्मेवारी त दिएकै थियौँ नि!’, उनले भने, ‘अब छाडेर जानेलाई सम्झिएर टाउको ठोक्न त भएन नि!’
अध्यक्ष नेपालले सम्बोधनका क्रममा एमालेका गएका नेता-कार्यकर्ताहरू अहिले पछुताएर सम्पर्कमा आउन थालेको बताए।
छाडेर जानेलाई सम्झिएर टाउको ठोक्न त भएन नि – माधव नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।