काठमाडाैं ।। रुसले युक्रेनी शहर मारयिन्का पूर्ण रूपमा कब्जा गरेको दाबी गरेको छ । गत मे महिनामा युक्रेनको बाख्मुत शहर कब्जा गरेपछि मारयिन्कालाई रुसले पूर्ण रूपमा नियन्त्रणमा लिएको हो ।
रुसी रक्षामन्त्री सर्गेई सोइगुले डोनेट्स्कबाट पत्रकारहरूलाई सम्बोधन गर्दै मारयिन्का कब्जा गरेको बताएका हुन् । योसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, ‘म तपाईंहरूलाई बधाई भन्न चाहन्छु । यो एउटा जित हो जसले ठूलो क्षेत्रमा पुग्न अवसर दिएको छ ।’
मारयिन्का कुनै बेला १० हजार मानिसको घर थियो । यतिबेला भने त्यो पूरै खाली छ । युक्रेनी सेनाहरूलाई त्यहाँबाट लखट्न सकिएको रुसी भनाइ छ । पुटिनले मारयिन्काको युद्ध जित्ने सेनालाई पुरस्कृत गरिने बताएका छन् । तर, युक्रेनले भने मारयिन्का रुसी सेनाको कब्जामा नभएको बताएको छ । आफ्ना सेनाहरू त्यही युद्ध गरिरहेको युक्रेनी सेनाका प्रवक्ता आलेकसान्डर स्तुपुनले बताएका छन् ।
यसबीचमा युक्रेनका राष्ट्रति भोलोदिमिर जेलेन्स्कीले क्रिसमसको अघिल्लो दिनमात्र रुसका दुई युद्धक विमानलाई आफूहरूले ध्वस्त बनाएको बताएका छन् । पहिलोपटक डिसेम्बर २५ मा युक्रेनले क्रिसमस मनाउँदा जेलेन्स्कीले आफ्नो हवाई रक्षा प्रणाली मजबुत बनेको र रुसी दुई युद्धक विमान ध्वस्त बनाएको बताएका हुन् ।
यस्तै, मंगलबार मात्र युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोतलाई आक्रमण गरेको बताएको छ । रुसले पनि आफ्नो युद्धपोतमा आक्रमण भएको पुष्टि गरेको छ । बीबीसीका अनुसार ट्यांकहरू बोक्ने युद्धपोतमा क्षतिसमेत पुगेको छ ।
युक्रेनी आक्रमणले क्राइमियाका ६ वटा भवनमा पनि क्षति पुगेको र एक जनाको मृत्युसमेत भएको छ । क्राइमिया युक्रेनको सो क्षेत्र हो, जसलाई रुसले सन् २०१४ मा आफूमा समाहित गरेको थियो । राष्ट्रपति जेलेन्स्कीले युक्रेनका अन्य भूभागसँगै क्राइमिया फिर्ता नभइन्जेल रुससँग युद्ध चलिरहने बताउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here