काठमाडौं । जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ कमिटीले पार्टीका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य एवं उधोग मन्त्री मातृका यादव लगायतका दर्जन नेतालाई अनुशासनको कारवाही गर्न निर्णय गरेको छ ।
६ वटा जिल्लाको कमिटी पदाधिकारील सपथ ग्रहण गराउने भाद्र २४ गते बर्दिबासमा तयारी थियो । बर्दिबास सेवा समितीको हलमा हुन लागेको कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवम सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।
२५ गते बसेको प्रदेश कार्यालयको बैठकले उक्त घटना नेता नेपाल तथा स्थायी कमिटी सदस्य मातृका यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको छ । नेकपा स्थायी कमिटीका सदस्य यादव पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारमा उधोग, बाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका छन ।
एक जना प्रदेश पदाधिकारी यसको पुष्टि गर्दै भने, ‘पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो । विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरुले सपथ ग्रहण नै भाँड्न खोज्नुभयो । तर पनि पार्टीका इमान्दार कमरेडहरुले संयमता देखाउनुभयो र दुई जिल्ला सिरहा र सप्तरीको सपथ ग्रहण पनि भयो ।’
‘नाराबाजी भैरहँदा अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रुपमा जुन व्यवहार देखियो त्यो निन्दनीय छ ।’ उनले थपे, ‘पछि घटनाबारे सूक्ष्म रुपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधव नेपाल तथा मातृका यादवको निर्देशनमा उक्त कार्य भएको हुनाले पार्टी नेतृत्वसंग दुबै नेतामाथि छानबिन गरि आवश्यक कारवाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौँ ।’
सपथ ग्रहण कार्यक्रम भाँड्ने प्रयासस्वरुप भएको तोडफोडको नेतृत्व भने पदभार ग्रहणसमेत गरिनसकेका नवनियुक्त प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले आक्रमणको नेतृत्व गरेको भन्दै केन्द्रीय कमिटीबाट निष्कासन गर्न प्रदेश कार्यालयको माग छ । प्रदेश कार्यालय बैठक बोलाउदा समेत नआएको, कुनै जानकारी नगराएको र पार्टी बिरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको हो ।
आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगत यादवलाई पनि केन्द्रीय कमिटीबाट निकाल्न माग गरिएको हो । त्यस्तै आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न माग गरिएको प्रदेश कार्यालयले जनाएको छ । श्राेत वानखबर