काठमाडाैं ।। नेपाल १० वर्षपछि टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्ने भएकाले नेपाल यो जितसँगै विश्वकपका लागि छनोट भएको हो । नेपालले यसअघि पछिल्लो पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो । त्यसयता विश्वकपका तीन संस्करण आयोजना भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन । यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो । सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो । त्यसबेला नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो । यूएई भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा आएको थियो । र, नेपाललाई ६८ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । तर, शुक्रबार मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा उक्त हारको बदला लिएको छ । यूएईले प्रस्तुत गरेको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर आसिफ शेखले अविजित ६३ रन बनाए । आसिफले ५० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो चौथो अर्धशतक हो । कप्तान रोहितकुमार पौडेलले ३५ रन जोडे । गुल्सन झाले २२ र अर्का ओपनर कुशल भुर्तेलले ११ रन थपे । यूएईका निलान्स केशवानी र बसिल अमिदले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो ।यूएईका भ्रित्या अरविन्दले ६४ रन बनाए । उनले ५१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । कप्तान मुहम्मद वसिमले १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाए । आलिसान सराफुले १६ र आसिफ खानले १३ रन थपे । नेपालका कुशल मल्लले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका मल्लले ११ रन खर्चिए । सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी र कप्तान पौडेल समान एक विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनल आएका थिए । नेपालले अब छनोटको उपाधिका लागि ओमानसँग खेल्ने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here