काठमाडाैं ।। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदको चालु अधिवेशन १४ कात्तिकसम्म जाने बताएका छन् ।
शुक्रबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कानुनमन्त्री गुरुङले संसदको चालु अधिवेशन कात्तिकको १३/१४ गतेसम्म चल्ने बताएका हुन् । कानुनमन्त्री गुरुङले मानवअधिकार ऐनलाई छिटोभन्दा छिटो संसदबाट पारित गरिने बताए । उनले मुलुकको इज्जतको विषय भएकाले कानुन निर्माणमा सरकारले ढिलाइ नगर्ने बताए । उनले जुनसुकै विधेयकलाई कानुन मन्त्रालयले छिटोभन्दा छिटो काम सम्पन्न गराएर पठाउने काम गरिरहेको बताए ।
कानुनमन्त्री गुरुङले चालु अधिवेशनभित्रै मानव अधिकार ऐनलाई पारित गर्न कठिन रहेको बताए । ‘फास्ट ट्र्याकमा हामी काम गर्नेछौँ । यही अधिवेशनभित्र निकै गाह्रो होला । संसद अधिवेशन कात्तिकको १३/१४ गतेसम्म जान सक्ने सम्भावना छ,’ उनले भने ।





