वीरगञ्ज ।। गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय, पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगञ्ज आएका उनले यस्तो बताएका हुन् ।
प्रेस सेन्टर पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरे। धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले संविधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए।
उनले प्रहरीमा सरुवा बढुवाको क्रममा हुने अवाञ्छित कार्यलाई आफ्नो कार्यकालमा शून्यमा झारिएको दावी गरे ।
‘प्रहरीमा सरुवा-बढुवा गर्दा, पदस्थापन गर्दा केही अवाञ्छित क्रियाकलाप हुने गरेको छ। आर्थिक चलखेल हुने गरेको छ। त्यसलाई शून्यमा झारिएको छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘सरुवा-बढुवा, पदस्थापन मापदण्डको आधारमा भइरहेको छ। त्यसलाई अझै गुणात्मक ढंगले गर्न जरुरी छ।’
भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याई दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गरे ।
गौर हत्याकाण्डका विषयमा पत्रकारहरूले गरेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धान रोकिएको होइन्, अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ, त्यसैले थप अनुसन्धान भइरहेको छ, यस बारेमा उचित निर्णय लिएर अघि बढ्छौँ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here