बारा ।। बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाकाे ज्यान गएकाे छ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो ।
बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत भएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेहरू ६ जना भारतीय नागरिक हुन् भने एक जना नेपाली नागरिक छन् । मृत्यु हुनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीया श्रीकान्त चतुरवेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी रहेका छन् । त्यस्तै महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।
बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरू पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए ।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा बस दुर्घटना : ज्यान गुमाउने सातै जनाको सनाखत
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।