काठमाडाैं ।। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउन आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
‘निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका पनि, डर पनि लाग्न थालेको छ,’ नेपालले भने, ‘त्यसलाई उच्चतम प्राथमिकता दिइयोस् । राष्ट्रिय बजेटमा पनि, सरकारको नीति तथा कार्यक्रममा पनि र यो समितिको काममा पनि ध्यान दिइयोस् ।’
विमानस्थलको काम अगाडि बढाउने विषय सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै नेपालले अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टि व्यक्त गरे ।
मंगलबार सिंहदरबारमा बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले विमानस्थलको महत्त्व अर्थमन्त्री महतले नबुझेको हो कि भनेर प्रश्न गरे । मुलुकको गेमचेन्जरको रूपमा रहेको विमानस्थललाई अघि बढाउन संसदीय समितिहरूलाई पनि विशेष ध्यान दिन उनले आग्रह गरे ।
आफूले जति कोशिस गर्दा पनि उक्त विमानस्थलको काम अघि बढ्न नसकेको उनको गुनासो छ । ठूला शक्ति राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने उनको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here