काठमाडौं ।। बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ लिएका छन्। मंगलबार सिंहदरबारमा यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
शपथपछि यादवले मुलुकलाई अघि बढाउनका लागि सरकारको स्थायीत्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए । उनले जसपाबाट चाँडै नै सरकारमा प्रतिनिधि पठाउने बताए ।
दलहरूबीच राष्ट्रिय समझदारी बनाएर मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
सांसद यादवले संसदीय समितिलाई क्रियाशिल बनाएर संसदलाई गतिशिल बनाउनुपर्ने धारणा राखे। यादव बैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट बिजयी भएका थिए ।





