काठमाडौँ ।। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबद्वारा आज ललितपुरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहले जनतासम्म आफ्ना सूचना पुर्‍याउन सामुदायिक रेडियोको संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, “सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ । सामुदायिक रेडियो प्रवर्द्धन गर्न नीतिगत व्यवस्थामा भएको समस्याको समाधान गर्नुपर्ने अवस्था छ । स्थानीय पालिकालाई सामुदायिक रेडियोसँग सहकार्य र साझेदारी गर्न मन्त्रालयबाट नीतिगत निर्देशन जारी गर्नेछु ।”
उनले जनप्रतिनिधिका अनुकूलमा कर्मचारी पठाउँदा सुशासन कायम हुन नसक्ने र सुशासन कायम गर्न खोज्दा आक्षेप आउने गरेको बताए ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले विपदमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै पछिल्लो समय उपेक्षामा परेको गुनासो गरे ।
हाल देशभर तीन सय ७२ सामुदायिक रेडियो सञ्चालनमा छन् । देशैभरका सामुदायिक रेडियोका सञ्चालक सहभागी रहेको सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभा आजदेखि सुरु भएको छ । यो सम्मेलन तथा साधारणसभा बिहीबार सम्पन्न हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here