काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार पार्टीको सचिवालय बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे ‘ब्रिफिङ’ गरेका छन् । ओलीले आफूसँग चार घण्टा लामो भेटवार्ता गरेको र पार्टी एकता गरेर ठूलो पार्टी बनाउने प्रस्ताव राखेको उनले बताएका हुन् । एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार ओलीले नेपाललाई पार्टी एकता गरेर सम्मानजनक स्थान लिन प्रस्ताव गरेका थिए । राष्ट्रपतिका विषयमा भने कुनै प्रस्ताव गरेका छैनन् । “एमाले अध्यक्ष केपी शर्मा ओलीले नै भेटको प्रस्ताव राखेपछि उहाँहरूको भेटवार्ता भएको रहेछ,” ती सदस्यले बाह्रखरीसँग भने, “हाम्रो अध्यक्ष माधवकुमार नेपालले बालकोटमा भेट अस्वीकार गरेपछि बालकोट पनि नगरौँ, कोटेश्वर पनि नगरौँ भनेर छुट्टै ठाउँमा भेट्ने गरी मिलाइएको रहेछ ।”
ती सदस्यका अनुसार अध्यक्ष नेपालले सो भेटवार्ताको मिति र स्थान भने बैठकमा खुलाएनन् । “राष्ट्रपतिको प्रस्ताव भएको छैन । अहिले पार्टी एकता गरौँ, ठूलो पार्टी बनाएर मिलाएर जाऔँ भन्नुभएको रहेछ,” ती नेताले भने, “तर, अध्यक्षज्यूले उहाँको एकता प्रस्तावप्रति आफ्नो विश्वास नरहेको बताउनुभएको छ ।” ओलीको प्रस्ताव रणनीतिक हुने भएकाले मिठो कुरा गर्दैमा विशवास गरिहाल्न सकिने अवस्था नरहेको उनको भनाइ थियो
स्रोतका अनुसार चार घण्टाको बसाइमा अधिकांश समय ओली नै बोलेका थिए । उनले हिजोका दिनमा कोबाट कस्तो गल्ती भयो भनेर पार्टी एकता हुन नसक्ने बताएका थिए । हिजोका दिन बिर्सिएर सौहार्द्रपूर्ण रूपमा पार्टी सञ्चालन गर्ने गरी एकताको प्रस्ताव गरेका थिए । नेता नेपालले भेटका क्रममा ओलीले राखेका पदसहितको प्रस्तावका बारेमा पनि बैठकमा खुलाएनन् । उनले ओलीसँग तत्काल सहकार्य सम्भव नहुने बताएका थिए । नेकपा (माओवादी केन्द्र) पनि ओलीसँगको सहकार्यबाट अलग हुन खोजेको उनको भनाइ थियो ।
“मलाई लाग्छ, प्रचण्डजी पनि ओलीसँगको सहकार्यबाट अलग भइसक्नुभएको छ । राष्ट्रपति चुनावपछि पुरानै गठबन्धन ब्युँतिन्छ,” अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
ओलीले पार्टी एकताको प्रस्ताव राखे, मलाई विश्वास लागेन -माधव नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।