काठमाडाैं ।। संसदीय दलका नेता चयन तथा सांसदको शपथ ग्रहण सँगै दलहरूले नयाँ सरकार गठनको तयारी पनि बढाएका छन् । सांसद्हरुले सपथ ग्रहण सकिएको तथा प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिएको समयसीमा नजिकिँदै गर्दा दलहरूले छलफल बढाएका हुन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेसले यसअघि नै आफ्नो दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ भने तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि सरकारको दाबी गर्दै छलफल थाल्ने भएको छ । हिजो बसेको संसदीय दलको बैठकमा सरकारको नेतृत्व दावी गर्दै काँग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गर्ने जिम्मा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको हो । माओवादीका सचिव शक्ति बस्नेतका अनुसार दलहरूबीच सरकार गठन र शक्ति बाँडफाँडका विषयमा गठबन्धनका दलहरूबीच छलफल भइरहेको र अब छिट्टै यो विषय टुंग्याउने बताउनुभयो ।
दोश्रो ठूलो दल नेकपा एमालेले भने गठबन्धनमा रहेका दलहरूको निर्णयलाई पर्ख र हेर को रणनीति लिएको छ । गठबन्धन एक ढिक्का भए आफ्नो पक्षमा बहुमत जुटाउन लगभग असम्भव हुने बुझेको एमालेले गठबन्धनमा खटपट आए माओवादी र नेकपा एससँग मिलेर सरकार बनाउने रणनीति बनाइरहेको छ । तर एमाले सचिव योगेश भट्टराईले भने एमालेको अहिलेको प्राथमिकतामा सरकार गठन नरहेको बताउनुभयो ।





