जनकपुर ।। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष राउतले यस्तो दाबी गरेका हुन् । उनले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए । जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको उनले बताए ।
अध्यक्ष राउतले जनतामुखी सेवाहरुप्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए ।
उनले भने- ‘हामीसँग संख्यात्मक रुपमा राम्रो संख्या छ । हामी निर्णयक भुमिकामा रहेका छौँ । मधेस प्रदेशमा नेतृत्वको दाबी छ । हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा । जनताले राम्रो सिट दिनुभएको छ । जनताको अपेक्षा पनि छ । हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो । शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन् । शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान छ । स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ । कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हामी हुनेछौँ ।’





