काठमाडाैं ।। भोलि हुने काँग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । संस्थापन पक्षबाट पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एक्लो उम्मेदवार भए पनि इतर समूहले दलको नेताको उम्मेदवार टुङ्ग्याउन सकेको छैन । नेता शेखर कोइराला र महामन्त्री गगन थापाको दलको नेतामा इतर समूहबाट दाबी छ । दुवै नेताबीच रातभरिदेखि आज बिहानसम्ममा सहमति भएपछि मनोनयन दर्ता गरिने एक नेताले जानकारी दिएका थिए । उपसभापति धनराज गुरुङले सहमति गराउनआफूले प्रयास गरे पनि दुवै नेता अडानबाट पछि नहट्दा समस्या भएको बताउनुभयो । आज फेरि छलफल गरेर एक जना उम्मेदवार तय गरिने उहाँले जानकारी दिनुभयो । संस्थापन समूहबाट आकांक्षी देखिएका नेता रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला र प्रकाशमान सिंहले दावी छोडेपछि भने देउवालाई सजिलो भएको छ ।





