काठमाडाैं ।। औपचारिक रुपमा निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि, सातै प्रदेशका प्रदेश सभामा अधिवेशन आह्वानको तयारी भएको छ । यसै अनुसार भौतिक संरचना निर्माण र मर्मत सम्भारलाई तीव्र पारिएको छ । कतै नयाँ भवन बन्दैछन् भने कतै पुरानै भवनमा रङ रोगन र सजावट गरेर तयार पारिँदैछ । ९३ जना सांसद रहने प्रदेश नम्बर १ को प्रदेश सभामा प्रत्यक्षतर्फ ५ वटा दलको प्रतिनिधित्व हुने निश्चित भएको छ । यसअघिकै संरचना नयाँ प्रदेश सभाका लागि पनि पर्याप्त हुने देखिन्छ । तर, मधेस प्रदेशको प्रदेश सभामा अघिल्लो पटक ७ दलको प्रतिनिधित्व रहेकोमा यसपटक ३ दल थपिएका छन् ।१ सय १० जना सांसद् रहने बागमती प्रदेशमा प्रदेश सभाको नयाँ भवन निर्माण भइरहेको छ । तर सबै काम सकिन बाँकी रहेकाले तत्कालका लागि भने यसअघिकै भवनमा बैठक बस्ने तयारी छ । ६० जना सदस्य रहने गण्डकी प्रदेशमा संसदीय कार्यालय व्यवस्थापन भइरहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले बताउनुभयो । समानुपातिक र प्रत्यक्ष गरी ८७ जना सांसद रहने लुम्बिनी प्रदेश सभा यसपटक नयाँ ठाउँमा बस्ने तयारी छ । लुम्बिनी प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभा दाङको लालमटियामा सार्ने तयारी अन्तिम चरणमा पुगेको छ । सबैभन्दा कम ४० जना सदस्य रहने कर्णाली प्रदेश सभाको व्यवस्थापनमा भने खासै समस्या नरहेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो । ५३ जना सदस्य रहने सुदूरपश्चिम प्रदेशमा यसपटक नागरिक उन्मुक्ति पार्टी र राप्रपा थपिएका छन् । तर, अघिल्लो प्रदेश सभामा रहेका जसपा र लोसपाको प्रतिनिधित्व नहुने भएकाले समग्रमा ६ वटा दलकै सहभागिता रहने भएको छ । एक जना स्वतन्त्र सांसदलाई व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सभा सचिव देवबहादुर बोगटीको भनाइ छ । समानुपातिकको मत गणना सकिएर प्रदेश सभालाई सांसदको सूूची पठाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्नुपर्छ । पहिलो कार्यकालमा भौतिक संरचना व्यवस्थापनमा देखिएको समस्या यसपटक नदोहोरिने प्रदेश सभा सचिवालयहरूले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here