काठमाडाैं ।। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अहिलेको चुनावमा निकै कमजोर भयो । अघिल्लो चुनावको भन्दा झण्डै डेढ लाख मत घटाएर लोसपा अहिले थ्रेसहोल्ड नकटाउने स्थितिमा पुगेको छ । थ्रेसहोल्ड नकटाउँदा राष्ट्रिय पार्टी नबन्ने स्थितिमा पुगेको छ ।
चुनावी नतिजापछि लोसपाका नेता र कार्यकर्तामा निराशा देखिन थालेको छ । लोसपा कमजोर हुँदा सीके राउतको जनमत पार्टी भने राष्ट्रिय पार्टीकाे रूपमा उदाएको छ । त्यही कारण अहिले लोसपाभित्र चुनावी समीक्षाको आवाज उठ्न थालेको छ । तर, लोसपाले अहिलेसम्म बैठकको तयारी भनेका गरेको छैन । अहिले लोसपा सरकारमा सहभागिताका लागि सत्ता गठबन्धनमा छलफल गरिरहेको छ ।
चुनावी समीक्षा नगरी सरकारप्रति बढ्ता भरोसा देखाउन थालेको भन्दै केही नेताहरू असन्तुष्ट पनि देखिन थालेका छन् । ठाकुरको प्रयासमा राजेन्द्र महतो पक्ष असन्तुष्ट देखिन थालेको पनि स्रोतको दाबी छ । महतो सर्लाहीबाट पराजित भएका छन् ।
लोसपाका नेताहरूको भनाइमा पार्टी कमजोर बन्नुमा अध्यक्ष ठाकुरको भूमिका नै प्रमुख छ । ती नेताहरूको भनाइमा जसपासँग विभाजित भएपछि बनेको लोसपाले संगठन बनाउने प्रयास नै गरेन । अध्यक्ष ठाकुरले केन्द्रीय समिति मात्र होइन, प्रदेश र जिल्ला कमिटी बनाउन पनि ध्यान दिएनन् ।
जिल्लाका कतिपय नेतृत्व चयनमा विवाद भएको थियो, जसले गर्दा त्यस्ता समितिले काम गर्न नै सकेनन् । त्यसो त, ठाकुरले नजिक ठानिएका नेताहरू नै उनलाई छोडेर हिँड्ने स्थिति बन्यो । ठाकुरले निरन्तर साथमा राखेका नेता वृषेशचन्द्र लाल, गोविन्द चौधरी, विजय सिंहलगायतका नेताहरूले लोसपा छोडेर हिँडे । उल्टै, ठाकुरको पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनर्गठन गरे । उनीहरूले लोसपाका नेताहरू हराउने प्रयाससहित उम्मेदवारी दिए । कतिसम्म भने, लालले अध्यक्ष ठाकुरलाई हराउन नै महोत्तरी–३ मा उम्मेदवारी दिएका थिए । अनि, लोसपाका नेता शरतसिंह भण्डारीका नेता हराउनका लागि विजय सिंह उम्मेदवार भएका थिए । यद्यपि ठाकुर र भण्डारी निर्वाचित भए । तर, सिंह, लाल र चौधरीहरू समानुपातिक मत घटाउन भने पर्याप्त आधार बने । त्यसमाथि राजेन्द्र महतो र महन्थ ठाकुरबीच सहज सम्बन्ध छैन । त्यसले पनि लोसपा कमजोर बनाउन भूमिका खेलेको लोसपाका एक नेताको दाबी छ । केही महिनाअघि त महतो केन्द्रीय कार्यालय जानसमेत छोडेका थिए । ठाकुरको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी कार्यालय नगएका महतोले चुनावको सम्मुखबाट मात्रै सम्बन्ध सुधार गरेका थिए । पार्टी दर्ता भएको एक वर्षमा संगठन बनाउन र कार्यकर्ता परिचालनमा प्रभावकारिता नभएको नेताहरू बताइरहेका छन् । त्यसको जटिलता भने सत्ताका लागि यता र उता गर्दा पनि भएको उनीहरूकाे भनाइ छ । शिलापत्रसँग कुरा गर्दै एक नेताले कहिले केपी ओली नेतृत्वको सरकारमा जाने त कहिले देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने गर्दा मधेसमा समस्या देखिएकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here