रौतहट ।। मतदानपूर्वको स्थिर समय सुरु भएपछि उम्मेदवारले निर्वाचन प्रचारप्रसार रोकिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, धाधलीरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाको सम्पूर्ण तयारी पुरा भईसकेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लाका सबै क्षेत्रमा सुरक्षागस्ती बढेको छ । आम मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था सुदृढ गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताउनु भये । प्रजिअ शाहीको अध्यक्षतामा विहिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा उपस्थित सुरक्षा निकायका प्रमुखहरु निर्वाचनलाई निष्पक्ष, धाधलीरहित, विवादरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउने स्थानीय प्रशासन कटिबद्ध रहेको एवं सुरक्षाको सबै तयारी पुरा भईसकेको जनाइएको हो ।
जिल्लामा सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी सहित ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए । जिल्लामा २७६ स्थायी निर्वाचन स्थल र दुई वटा अस्थायी निर्वाचन स्थल गरी २७८ निर्वाचन स्थल तथा ५७८ निर्वाचन केन्द्र रहेको छ ।
निर्वाचन स्थलको पहिलो घेरामा नेपाल प्रहरी, म्यादी प्रहरी रहने छ भने त्यस भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिने छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सम्मिलित सुरक्षा टोलीले गस्ती पट्रोलिंग गर्ने समेत भएको हुँदा आम मतदाताहरु निर्धक्क भई आ आफनो मतदान स्थलमा मंसिर ४ गते गएर मताधिकारको प्रयोग गर्न समेत प्रजिअ शाहीले भने ।
जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।





