रौतहट ।। रौतहटको कटहरिया नगरपालिकामा दुई स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच झडप भएको छ । निर्वाचन क्षेत्र नम्वर ३ स्थित कटहरिया बजारमा बुधवार राति स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल समर्थक र प्रदेशसभाका स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच झडप भएको हो।
वादविवाद भइ दुवै पक्षका कार्यकर्ता बीच झडप भएपछि नेपाल प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले २ राउण्ड गोली हवाई फायर गरेको थियो ।दुवै पक्षका समर्थक मदिरा सेवन गरी एकअर्काको उम्मेदवारलाई गाली गर्न थालेपछि वादविवाद सुरु भएको इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले बताए।
प्रहरीले घटनालाई शान्त पार्न अश्रुग्यास र हवाई फायर गरेको उनले बताए । आक्रोशित केही व्यक्तिले अचानक ढुंगा र सीसाका टुक्राले प्रहार गर्न थालेपछि झडप नियन्त्रण लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको सइ सिंहले बताए।





