काठमाडाैं ।। भारतीय कांग्रेसका नेता राहुल गान्धी सहभागी कार्यक्रममा नेपाली राष्ट्रिय गीत बजेको छ । नेपाली राष्ट्रिय गीत बजेपछि राहुल गान्धी केहीबेर अक्क न बक्क भएका थिए ।
राहुल गान्धी अहिले ‘भारत जोडो यात्रा’ अभियानमा छन् । सोही यात्राका क्रममा गान्धी सहभागी एक कर्यक्रममा भारतीय राष्ट्रिय गीत बजाउन खोज्दा नेपाली राष्ट्रिय गीत बजेको हो । गान्धीले भारतका विभिन्न स्थानमा यो अभियान सञ्चालन गरिरहेका छन् । यसै क्रममा बुधबार महाराष्ट्रको वासिम भन्ने स्थानमा सो अभियानअन्तर्गत आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गीत बजाइएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा राहुल गान्धीले कार्यक्रममा राष्ट्रिय गीत बजाउनका लागि निर्देशन दिन्छन् । तर लगत्तै नेपाली राष्ट्रिय गीत बज्छ । त्यसपछि मञ्चमा आसिन राहुल गान्धीसहित अतिथिहरु अक्क न बक्क हुन्छन् । उनीहरुले राष्ट्रिय गीत बजाउन भन्दै फेरि निर्देशन दिन्छन् ।
त्यसपछि भने भारतको राष्ट्रिय गीत बज्न थाल्छ । राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गीत कसरी बज्न पुग्यो भन्नेबारे औपचारिक रुपमा केही खुलाइएको छैन । यद्यपि यो विषयले अहिले सामाजिक सञ्जालमा भने निकै चर्चा पाएको छ ।





