काठमाडौं ।। गत शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउडको फिल्म ‘उचाई’ ले नेपाली दर्शकको मात्र नभएर नेपाली फिल्मकर्मीको पनि साथ पाएको छ ।
बक्स अफिसमा सुखद प्रदर्शन गरिरहेको यो फिल्मको विषयमा नेपाली फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा खुलेर लेखिरहेका छन् । विशेषगरि, नेपालमा छायांकन गरिएको फिल्म भएकाले पनि यसले फिल्मकर्मीको साथ पाएको हो । काठमाडौंमा हालै आयोजना गरिएको विशेष शोमा यो फिल्म हेर्न उल्लेख्य फिल्मीकर्मी पुगेका थिए । उनीहरुले उचाईले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको भन्दै प्रशंसा गरे । निर्देशक मिलन चाम्सले आफूले विदेशी फिल्मको प्रमोशन यस अगाडि नगरेको भए पनि यसपटक नेपालको भूमिलाई गज्जब तरिकाले खिचिएको भन्दै यो फिल्मलाई सबैले साथ दिन आवश्यक रहेको उल्लेख गरेका छन् ।
विश्वको सबैभन्दा अग्लो सगरमाथाको आधार शिविरसम्म खिचिएको यो फिल्मले नेपालको पर्यटनको विकासमा ठूलो भूमिका खेलेको छ ।
सुरज बड्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, डेनी लगायतको मुख्य भूमिका छ ।





