काठमाडाैं ।। मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आजदेखि खुला प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आजदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । आयोगका अनुसार आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । हिजोसम्म दल र उम्मेदवारले सीमित घरदैलो कार्यक्रम गर्दै आएका थिए । खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा केन्द्रित हुनुहुने भएको छ । गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभा र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा गृहप्रदेश सुदूरपश्चिम पुगिसक्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ सहित पार्टीका प्रचार कार्यक्रममा सहभागी हुने तय भएको छ ।यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिदेखि देश दौडाहामा निस्किने हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव अहिले निर्वाचन क्षेत्र सप्तरी २ मा मतदाता भेटघाट र घरदैलो कार्यक्रममै व्यस्त हुनुहुन्छ । त्यस्तै, लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचन क्षेत्र महोत्तरी ३ को पूर्वनिर्धारित कार्यक्रममै व्यस्त हुनुहुन्छ ।यसैबीच निर्वाचन प्रचारको दोस्रो चरण आजदेखि सुरु हुने भएपछि आयोगले दलहरूलाई आचारसंहिता पालनामा ध्यान दिन पुनः आग्रह गरेको छ। आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
आजदेखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












